April-19/काठमाडौं ,
सरकारले नेकपा एमालेका महासचिव माधवकुमार नेपाललाई आज थुना मुक्त गरेको छ। हिजै मुक्त गर्ने भनी ककनीबाट काठमाडौंतर्फ ल्याउने क्रममा बाटैबाट फर्काइएको थियो उहाँलाई। यसको कारण भने समयको अभाव भनिएको छ। नेपाल माघ ६ देखि चैत्र १२ सम्म घरमा नजरबन्द र चैत्र १२ देखि नेपाल सशस्त्र प्रहरी बलको ककनीस्थित तालिम केन्द्रमा राखिनु भएको थियो। नेपालले रिहापछि जनताको अधिकार बहाली नभएसम्म राजासंग वार्ताको सम्भावना नरहेको बताउंनु भएको छ। उहांले बल्खुस्थित नेकपा एमाले केन्द्रिय कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै उक्त कुरा व्यक्त गर्नु भएको हो। सात दलका अरु नेताहरु मुक्त भए पनि उहाँलाई भने नजरबन्दमै राखिएको थियो। जनआन्दोलनले चर्को रुप लिइरहेको बेला एमाले महासचिवलाई किन रिहा गरिँदैछ भन्ने कुरालाई लिएर धेरै अडकलबाजीहरु भइरहेका छन्। कोही भन्छन् यो राजाको सात दललाई फुटाउने अर्को चाल हो। माधव नेपाललाई मुक्त गरिएपछि पनि रामचन्द्र पौडेल, नरहरि आचार्य अनि नागरिक समाजका देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, श्याम श्रेष्ठहरु अझै थुनामा नै हुनुहुन्छ।