काठमाडौ/२४ अप्रिल,
व्यापक र गहन बन्दै गएको सात राजनीतिक दलहरुको राजा विरोधी आन्दोलनले बढ्दो रुपमा गणतन्त्रात्मक आन्दोलनको रुप लिइरहँदा सोमवार राति ११.३० बजे सरकारी संचार माध्यमहरुद्वारा प्रसारीत सन्देशमा संसद पुर्नस्थापना सात आन्दोलनरत दलहरुको मूख्य माग अनुसार राजा ज्ञानेन्द्रबाट विघटित संसद पुर्नस्थापनाको घोषणा भएको छ । पुनर्स्थापित प्रतिनिधि सभाको बैठक शुक्रवार दिनको एक बजे संसद भवन सिंहदरबारमा बस्न राजाबाट आह्वान भएको छ ।
राजाबाट भएको घोषणा सुन्नलाई यहाँ क्लिक गर्नुहोस्। र पढ्नलाई भित्र आउनुहुस् :-
राजाबाट भएको सन्देशको पूर्ण पाठ यस प्रकार छ:
प्यारा देशवासीहरू,
नेपाल अधिराज्यको राज्य शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौम सत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहीत रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवम् आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याहरूको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारीसमा नेपाल अधिराज्यको सम्बिधान २०४७ बमोजीम २०५९ साल जेठ आठ गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणा मार्फत पुनर्स्थापित गरिबक्सेका छौं।बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटो तर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरूलाई आह्वान गर्दछौं। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक २०६३ साल बैशाख १५ गते शुक्रवार दिनको १ बजे संसद भवन सिंहदरबारमा बस्ने गरी आह्वान गरीबक्सेका छौं। नेपाल र नेपालीको बृहत्तर हित यो संसदबाट हुनेछ भन्ने हामीलाई विश्वास छ। जनआन्दोलनमा जीवन गुमाएका प्रति समवेदना र घाइते एवम् आहत भएका सबैप्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकता तर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
जय नेपाल।
बिहानको ‘’प्रतिनिधिसभाको पुर्नस्थापना गर्न सक्ने'’ शिर्षक ब्लग लेख्दा सम्ममा यति चाडैं राजा बाट प्रतिनिधिसभाको पुर्नस्थापनाको घोषणा हुन्छ होला जास्तो लागेको थिएन । जे भयो राम्रैं भयो ।