काठमाडौं/9th May,
कोरिया साना तथा मझौला उद्योग संघबाट प्राविधिक प्रशिक्षार्थीका लागि ६ सय ५० पुरुष र ४५ महिलाका लागि मुनड्रप्स ओभरसिजमा कोटा आएको सूचना छ । वैशाख १६ मा छापिएको सूचनामा १७ गते बिहान १० देखि बेलुकी ५ सम्ममा प्रारम्भिक छनोटका लागि अन्तर्वार्ता हुने उल्लेख थियो तर सो कोटाको सुचना भनें मुनड्रप्सले राष्ट्रिय दैनिकको पगडी पाएको हिमालय टाइम्समा छपाएर सबै प्रति आफैंले खरिद गरेर सबै पत्रिका नष्ट गरि गोप्य रुपमा कोरिया पठाउने तयारी गरेको कुरा पनि खुल्न आएको छ । उक्त पत्रिका यस दिन नियमित ग्राहकले पनि पाएका थिएनन्। अभिलेखका लागि नियमित पुग्ने सूचना विभागमा समेत १६ गतेको उक्त पत्रिका उपलब्ध छैन । उक्त दिन सो पत्रिकामा अन्य विभिन्न ओभरसिजहरुको पनि मलेशिया,कटार,मकाउ, यु ए ई र सउदी अरेबियाको माग गर्दै विज्ञापन छापिएका थिए ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयले यस सम्बन्धमा स्पष्टीकरण लिने भएको छ । नियमअनुसार खुला प्रतिस्पर्धामा सम्भावित खर्च १ लाख ४८ हजार रुपैयाँ तोकिएको भएपनि उचित शुल्क नलिई सीधै जान चाहने कामदारहरू बाट ४ लाख देखि ६ लाखसम्म लिएको पिडितहरुले भनेका छन् । आफ्नो नातेदारका माध्यमबाट यो कोटामा पर्ने तयारीमा रहेका ती पिडितहरुले पैसाको रसिदसमेत नपाएको बताए ।
मुनड्रप्सका निर्देशक प्रसिद्ध राणाले भने सूचना सार्वजनिक भएको दाबी गरे । ‘७/८ सय सिटका लागि आएको मागमा ७०/८० हजारको भीड जम्मा गर्नलाई सूचना व्यापक गराउनुपर्ने जरुरी देखिएन’ उनले भने। विगतमा कोरियामा कामदार पठाउने प्रक्रियाकैं सिलसिलामा विवादमा परेको सो ओभरसिज दरबारमा आफन्तहरु भएको कारण उक्त गैरकानुनी रुपमा यत्रो धन्दा गर्दा पनि सम्बन्धित निकायले कानमा तेल हालेर बसेको देखिइको छ । त्यसैले उक्त कार्यको तुरन्त छानबिन गरि धन्दावाल कर्मचारी, दलालहरु र ओभरसिज संचालक माथि कारवाही गरि मुनड्रप्सका कामकारबाहीहरु तत्काल निलम्बन गरि छानबिन गर्नुपर्छ ।