काठमाडौं/ अषाढ २९,
अर्थमन्त्री रामशरण महतले बुधवार प्रतिनिधिसभामा आर्थीक वर्ष २०६३/६४ को लागि एक खर्ब ४४ अर्ब रुपीयाँको बजेट प्रस्तुत गर्नुभएको छ। आउने आर्थिक वर्ष संविधानसभाको निर्वाचन हुन्छ भन्ने आधारमा निर्वाचनका लागि बजेटमा १ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ ।राजाको प्रत्यक्ष शासनकालमा ह्वात्तै वढाइएको राजदरबारको खर्चमा ४५% कटौती गरिएको छ भने सेनामा नयाँ भर्ना नगरिने जनाइएको छ। दरबार खर्च आगामी वर्षका लागि २० करोड ९७ लाखमा सीमित भएको छ । दरबारले आगामी वर्षका लागि करिब २९ करोड माग गरेको थियो ।
यसअघि प्रत्येक गाउँ विकास समितिलाई दिइँदै आएको पाँच लाख रुपीयाँको अनुदानलाई दोब्बर बनाई १० लाख पुर्याइ ग्रामीण क्षेत्रलाई प्रथामिकता दिइएको छ । यो रकम अर्थ मन्त्रालयबाट सोझै गाउँ विकास समितिमा पठाइनेछ । यसअघि स्थानीय विकास मन्त्रालय र जिविस हुँदै रकम जान्थ्यो । २०५४ सालपछि गाविसमा प्रत्यक्ष जाने रकम वृद्धि भएको यो पहिलो पटक हो । गाविस अनुदानमा झन्डै ४ अर्ब खर्च हुनेछ । त्यस्तै वृद्ध र विधवा भत्ता पनि वृद्धि भएको छ । त्यस्तै कृषि अनुसन्धानमा केही समयअघि कटौति गरिएकोमा बजेटमा कृषि विकासको लागि झण्डै चार करोड रूपीयाँ विनियोजन गरिएको छ।