काठमाण्डौ/१४ श्रावण,
कुनै फिल्मी तरिकाले भनौ वा माओबादी तरिकाले भनौ एउटै हो, राती लगभग २ बजे ४० जनाको हाराहारीमा सैनिकहरु २ वटा भ्यानमा सैनिक पोसाकमै आएर वडा प्रहरी कार्यालय दरबारमार्ग घेराउ गरी त्यहाँ कार्यरत प्रहरी निरीक्षक रामबहादुर केसी, सहायक निरीक्षक धर्मेन्द्र राय र जवान डिल्लीराम तामाङलाई अपहरण गरी महाराजगंजस्थित भैरवनाथ गणको ब्यारेकमा लगेर प्रहरीलाई पानीमा चोपल्दै कुटपिट गर्नुका साथै करेन्ट लगाएर चरम यातना दिईन्छ र लगभग २ घण्टाको यातना पछि घाइते प्रहरीहरुलाई बिहान ४ बजेतिर महाराजगंजस्थित वडा प्रहरी कार्यालयको टोली बोलाएर जिम्मा लगाईन्छ । यस्तो गर्ने अरु कोहि नभएर भैरवनाथ गणका क्याप्टेन रविन्द्र विक्रम राणा हुन् । स्मरण रहोस् यही ठाँउमा यसअघि माओवादीको आरोपमा पक्राउ गरिएका ४९ जनालाई समेत यसरी नै सोही गणमा हत्या गरिएको थियो ।
ठमेलको संचयकोष भवन अगाडि सडकमा अवरोध हुने गरी एउटा रातो गाडी राखिएपछि निरीक्षक केसीको नेतृत्वमा रहेको कार्यदलले बाटो अवरुद्ध हुने गरी गाडी रोक्नुको कारण माग्दा एक रेष्टुरेन्टबाट रक्सी खाएर निस्किदै गरेका सादा पोशाकमा रहेका क्याप्टेन राणा र उनका साथी विकेन्द्र सिंह विष्टले प्रहरीमाथि हातपात गरेको थियो । सोहि क्रममा राणा फरार भएपनि विष्टलाई पक्राउ गरेर वडा प्रहरी कार्यालयमा सोधपुछ भैरहेको बेलामा बा १ झ ८३०२ र ६२८३ नम्बरको दुई वटा भ्यानमा आएर अपहरण गरेका थिए। उक्त घटनाको कारबाही स्वरुप भैरवनाथ गणका क्याप्टेन रविन्द्र विक्रम राणालाई प्रधानमन्त्रीको निर्देशनमा निलम्बन गरिएको छ र घाइते प्रहरीहरुको आज बिहान वीर अस्पतालमा उपचार गरिएको थियो ।
नेपालमा अहिले नेपाली सेनाको छवि प्रहरीको भन्दा पनि गिरेको अवस्था छ र यसको लागी कही न कही दरबार सँग सम्बन्ध रहेको विज्ञहरु बताउछन् ।