आश्विन ११ गतें,
‘यसपाली त आमा, जमारा अलि धेरै राख्नुहोस् ।’ छिमेकको ठुली काकीलाई छोराहरुलें पठाएको पत्रमा मैले भुल्न नसक्ने एउटा वाक्य यो पनि थियो । हो , यसपाली साँच्चैनै जमारा अलि धेरै राख्नु पर्ने हुन्छ, किनकी काकीका सबै छोराहरु यसपाली घर आउने रे । १० वर्ष अघि जङ्गल पसेका जेठा छोरा , नेपाली सेनामा रहेका माईला र खाडी मुलुक काम गरिरहेका कान्छो छोरा सबै दशैमा घर आउने भएका छन् । दस वर्ष देखि एक-अर्कासँग नचाहेर पनि शत्रु बन्दै आएको दाजु-भाई यसपाली बिना कुनै रोकटोक, बिना कुनै डर त्रास, निश्चित भएर आमा बुबाको आशिक थाप्न घर आँउदै छन् । हतियार काँधमा बोकेर जङ्गल-जङ्गल चाहार्दै मृत्युको भयमा बाँचिरहेका माओवादी , कतिबेला एम्बुसमा पारिने हो भनि त्रासमा बँसिरहेका नेपाली सेना अहिलेको उधारै शान्तिमा भएपनि निश्चित छन् , धुक्क छन् ।
हो ! यसपालीको दशैंमा साँच्चै नयाँ जोश ,जाँगर नयाँ उमङ्ग छ । देशको कुना कुनामा दशैं छाएको छ । कसैलाई फुर्सद छैन । देशको कुना-कुनामा खसी, भेडा,च्याङ्ग्रा, टिका जमारा, सेल रोटीका मनमोहक सुगन्धले माहौल मादक र मनोरञ्जनपूर्ण बनाएको छ । गाँउ र शहरको कुना कुनामा रोटे पिङ्ग, लिङ्गे पिङ्गमा केटा केटी देखि लिएर बुढा पाकाहरु समेत देखिएका छन् । बजारै भरि नयाँ-नयाँ फेसनका लुगाफाटाहरु ‘दशैं Discount’ मा किनबेच गर्नेहरुको हातमा नेपाल राष्ट्र बैंकका नयाँ नोट, गल्ली गल्लिमा ” झण्डी बुर्जा”का खेलहरु , ठाँउ-ठाँउमा नयाँ नयाँ भाग्यशाली चिट्ठा उपहारका टिकटहरुको किनबेच , शहर देखि गाँउ जानेको भिड, गाँउfदेखि शहर आउँनेको घुईचो, व्यस्त सडकहरु….. प्रत्येक पाईला पाईलामा खुशीको सन्देश लिएर गाँउ-गाँउ पसेको छ दशैं, शहर-शहर पसेको छ दशैं ।
अझ गाँउ त के कुरा , चारै तिर धानका बालाहरु लहलह, पाक्न लागेका धानका बालाहरुबाट निस्केको मनमोहक सुगन्ध, करेसाबारीमा पाकेका नास्पाती, अम्बा, घरआँगनको डिलमा फुलेका मखमली, थुँङ्गे, लाहुरे, गुद्रयौली र अन्य रङ्ग विरङ्गी फुलहरु, माहुरी र भँमराको मधुर आवाजहरु, वर-पिपल चौटारी, लाकुरी भञ्जाङ्ग र पिपल डाँडामा युगल जोडीहरुको मेल र निस्फिक्री उडिरहेको चराहरु सबैमा भयरहित, रक्तहिन, आशा र विश्वासले भरिपुर्ण दशैं आएको छ ।
विगतका दशैहरुमा झै आमाको टिका थाँप्न पनि लुकेर आउने/जाने……. नाई ! भयो म विगतलाई सम्झन चाहान्न । जे होस् २ सय ३७ वर्षे कुम्भकर्णे निन्द्राबाट ब्युँझेका नेपाली जनतालें न्याय-अन्याय छुट्टाई राजनैतिक दल अनि कपालमा जेल डलेर, दाह्री खौरेर शहर पसेका माओवादीसँग हातेमालो गरि नयाँ नेपालको निर्माणको खाका तैयार गर्नु छ यसपालीको दशैंमा । उधारो शान्तिलाई दिगो शान्ति बनाउनु छ यसपालीको दशैमा , नयाँ नेपालको निर्माणलाई नयाँ सन्देश दिने छ यसपालीको दशैले । बस् यहि आशा गरौ यहि अपेक्षा राखौ यस पालिको दशैमा ।