यो के भए म ?
मागे जति सबै दिए, खाली भए म ,
कस्ले गर्यो बेइमान् यहाँ, जाली भए म ।
कुरा गर्छन् सबै साथी उन्नतीका,
दर्शक माझ फगत यौटा, ताली भए म ।
माटो संग कर्म गर्छु, धर्म गर्छु,
आफैं भित्र खिईरहने, फाली भए म ।
कुरो हुन्छ चार जात र छत्तीस् बर्ण,
बिना फूल बगैचाको, माली भए म ।
मैले थापें, मैले ख्वाँए अन्न पानी ,
खाए पछि फालिएको, थाली भए म ।
घुर्क्याउने, फक्याउने यस्तै हुन्छ माया ,
मायालुको ओंठमा सधैं, लाली भए म ।
स्वभिमानको छानो फाट्छ किन यहाँ ।
बर्खामास चुहिरहने, पाली भए म ।
********************************
‘अम्रिकाको ग्रिन’काल (कार्ड)‘
आदरनीये पीर्येबुढी
सादर ‘स्यालूट’ छ,
मलाई लाग्छ हाम्रो माया-प्रीति
अझै ‘भ्यालिड’ छ।।
धेरै वर्षपछि,
‘बोष्टन सीटी’बाट यौटा
चिठी लेख्दैछु,
तिमी विना भुङ्रो जस्तो
रन्किएको मेरो मन,
हरिया डलरले अझै सेक्दैछु।।
के भनौ तिम्लाई बुढी
स्याप्पै सुक्यो,
नेपालको त्यो मेरो भुँडी।
तालु खुइलिएर
आलु जस्तो भैसक्यो,
‘ग्रिनकाल’ को आशै आशमा
आधा उमेर यही गैसक्यो।।
‘ग्रिनकाल’ पाएपछि
लौरो किनी ल्याउछु,
राम्रो डाक्टर खोजिकन
आँखा जचाउछु ।
एक हातमा लौरो टेकी,
अर्को हातमा झोली बोकी,
एयरपोर्टमा तिमीलाई भेटौंला
भेटेपछि आपसमा-
माया-प्रीति गासौंला।।
साथीभाईले भन्थे बुढी,
‘अम्रिका’मा सबै काम
कम्प्युटरले गर्छ,
जुनसुकै काम पनि
आजको भोली हुन्छ,
यो सबै बकम्फुसे कुरामात्र रैछ ।।
के एत्रा! हुन्थ्यो, भुत्रा! हुन्थ्यो,
हुने भए त्यो ‘ग्रिनकाल’ भन्ने
प्लास्टिकको पाप्रो छाप्न
किन पाँच-सात वर्षलाग्थ्यो!!
एउटा कुरा बुझ मेरी
परान पीयारी,
केही वर्षपर्ख अझै,
दायाँ-बायाँ गडबड नगरी ।।