कार्तिक ७ गते,
मुर्चुङ्गा डट कमको देउसी-भैलोको गीतको लागी यहाँ क्लिक गर्नुहोस् । फेरी यसपाली पनि म ‘भाई टिका’ मा दिदीलाई भेट्न पाईन । यो मेरो बाध्यता भनौं वा के भनौं । प्रवासी भुमिमा परिश्रम गर्न आएका हामी नेपालीको वास्तविकता यही हो । सधैं काम र काम मात्र !! मेरो टिकाको दिन यसरी गयो ।
हिजो सुत्ने बेलामा ‘ओहो ! भोली त ‘भाई टिका’ भोली सायद केहि नौलो महसुस हुन्छ नै होला भन्ने सोचेको थिए। तर ‘नाई’ केहि भएन सदा झैं बिहानको आलर्मले निद्रा खुल्यो अनि उहि काम । बिहान देखि खाना खानें बेला सम्म एकदमै व्यस्त, खाना खाएर हतार हतार टिकाको साईत हेर्न कम्प्युटर खोले । मन झन् अत्यास लाग्दो भयो । खाना खाने र आरामको लागीको १ घण्टा सकियो । फेरी काम ,दिनभरी तिहारको बारेमा सम्झें , गाँउ घर सम्झे, साथीहरु सँगको ‘देउसी भैलो’ सम्झें, मादलुको ताल , त्यैं तालमा नाचेको साथीहरु सम्झें, पर बारीमा हालेको ‘लिङ्गे-पिङ्ग’ सम्झें, सेल रोटी, त्यो रङ्गी-चङ्गी माला अनि निधारको त्यो सप्तरङ्गी टिका सम्झे, नयाँ-नयाँ लुगामा रमाउदै गरेको त्यो छिमेकीहरुको केटा-केटी सम्झें, दिदीको त्यो हँसिलो मुहार सम्झें, भाईको चम्किलो अनुहार सम्झें !!………. ऊफ !! मेशिन रोकिएछ ! भोटेले खाँउला झैं गरी हेरिरहेको रहेछ । मेशिन चलाउदै फेरी सम्झानाको दुनियामा हराउन लागे । मेरो अहिलेको वास्तविकता ‘प्रवासी जीवन’ सम्झें, फेरी यसो सहकर्मी साथिहरुलाई नियालेर हेरें, आफ्नैं धुनमा काम गरिरहेको भएपनि उज्यालो अनुहार कसैको देख्न सकेन । सायद तिहारको असर उनिहरुमा पनि थियो । हामी प्रवासीको जिवन नै यस्तै छ ।
काम गर्दा-गर्दै म एक्कासी आफ्नै घरमा भएको अनुभव गर्न लागे । टिकाको समयमा वहाँ दिदीले भाईलाई टिका लगाउदै गर्दा यहाँ मैलें आफ्नो निधार साँस रोकेर अड्याएको थिए । दिदीले माला लगाई दिएको यहाँ मैले प्रष्ट अनुभव गरेको थिए । दिदीको आषिश पनि पाँए तर उफ !! मैले केहि दिन् सकेन । टिका सकाएर देउसी-भैलो खेल्न थाले । म भट्याउदै गए , ” आहै भन् मेरा भाई हो …… तर कसैले देउसुरे भनेनन् । यता उता हेरे साथीहरु काममै मस्त थिए, सायद मेशिन चलेको आवाजमा उनिहरुले मेरो भट्याई सुनेनन् क्यारे !! ठिकै छ भनि म आफैं भट्याउदै गए र आँफै देउसुरे भने….. मेरो आवाज कसैले सुन्दैनन् ।
आहै भन् मेरा भाई हो ….. देउसुरे
आहै राम्ररी भन् …… देउसुरे
आहै स्वर मिलाई भन् ……. देउसुरे
……………………… देउसुरे
ऊफ !!मेशिनको आवाजको बिचमा मेरो आवाज सुन्यतामै हराईरहेछ-हराईरहेछ ।