[प्रस्तुत तलको नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ती मलाई ई-मेलबाट प्राप्त जस्ताको तस्तै यहाँ प्रस्तुत गरेको छु । यो मेरो ई-मेलमा आएको दोस्रो मेल हो, तपाई पनि केही लेख, रचना, कविता वा चुट्किलाहरु पठाउन चाहनु हुन्छ भनें मेरो ई-मेलमा पठाउन सक्नु हुन्छ । धन्यबाद !]
नेपाली जनसम्पर्क समिति अमेरिका
२१९ स्प्रिड फिल्ड एभेन्यू समिटी
न्यूजसर् ०७९०१ अमेरिका
फोन ६४६ २८५ २६९३
इमेलः kc@chhetrylaw.com
प्रेस विज्ञप्ति :
नेपाली कांग्रेस केन्द्रीय समितिबाट २०६३ मंसीर ४ गतेको निर्णय अनुसार गठित यस नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिका अधिवेशन तयारी समितिको पछिल्लो बैठक मिति तद्अनुसार सन् २००६ डिसेम्बर २० तारिख सम्पन्न भएको छ । यसअघि डिसेम्बर ०३ डिसेम्बर १२ र डिसेम्बर १५ तारिखमा पनि समितिको बैठक सम्पन्न भएको छ । सबै बैठकमा पाँचै जना सदस्य पदाधिकारीहरु संयोजक म स्वयं खगेन्द्र जी.सी.सहित सदस्यहरु आनन्द विष्टडा, सुरेन्द्रराज देवकोटा, मृदुला कोइराला र कृष्ण लामिछानेले टेलि कन्फ्रेन्समार्फत सहभागिता जनाएका थियौं ।
पछिल्लो बैठकमा पार्टीले सुम्पिएको जिम्मेवारीलाई सामूहिक रुपमा कसरी पुरा गर्ने भन्ने विषयमा सबै पदाधिकारी साथीहरुका बीचमा छलफल भयो। जसअनुसार समितिको प्रथम अधिवेशन आगामी सन् २००७ मे २७ तारिखका दिन टेक्सासको डल्लासमा सम्पन्न गर्ने निर्णय गरिएको छ। यसैगरी अधिवेशनका लागि निर्वाचन समिति सदस्यता विस्तार समिति र न्यायिक समिति गठन गर्ने निर्णय समेत गरिएको छ। समितिले नेपाली कांग्रेससँग आवद्ध सबैलाई सदस्यताका लागि औपचारिक आग्रह गर्ने निर्णय समेत गरेको छ । यसअघि डिसेम्बर १५ तारिख सम्पन्न बैठकमा विघटित नेपाली जनसम्पर्क समितिउत्तर अमेरिकाले आगामी डिसेम्बर ३० तारिखका दिन टेक्सासको डल्लासमा आयोजना गर्न लागेको भनिएको सम्मेलनका बारे विस्तृत छलफल हुँदा पार्टी निर्णयपछि विकसित नयाँ परिस्थितिमा सो अधिवेशन नगर्ने सर्वसम्मत निर्णय गरिएको थियो । विघठित दुवै समितिका तर्फबाट पार्टी निर्णयलाई सहर्ष स्वीकार गरी विकसित नयाँ परिस्थितिमा पार्टीको सांगठनिक गतिविधिलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै अव सबै काम पार्टीले गठन गरेको तयारी समितिबाटै गर्ने सर्वसम्मत निर्णय गरिएको थियो । यसका लागि अधिवेशन तयारी समितिको संयोजकको तर्फबाट म सबै पदाधिकारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । यसैगरी पार्टीका शुभेच्छुक एवं शुभचिन्तक साथीहरुले पुर्याउनु भएको योगदानलाई पनि म समितिको तर्फबाट विशेष आभार व्यक्त गर्दछु ।
हामी पार्टीको नीति निर्देशन अनुसार पार्टीले सुम्पिएको जिम्मेवारी पुरा गर्न प्रतिबद्ध भएको स्पष्ट पार्दछौं । यस कार्यमा अमेरिकाभर छरिएर रहनू भएका नेपाली कांग्रेसमा आस्थावान् सबै साथीहरुबाट समितिलाई निरन्तर सहयोग र सुझाव प्राप्त हुने नै छ भन्ने विश्वास हामीले लिएका छौं ।
जय नेपाल ।
डिसेम्बर २१ २००६
भवदीय- खगेन्द्र जी. सी.
(संयोजक)