“गाँउका सानो रुखहरु ठुलो भएको रहेछ, ठुला रुखहरु हराईसकेका रहेछन्, सधैं संगितमय हुने तल्लो रानीवनको नाम तारेभिर भएछ, माथिल्लो रानीवन अहिले गाईचरण भएको रहेछ। गा.वि.स भवनमा जंगलको’ले आगो तापेका रहेछन्, सात वर्ष अगाडी गाँउ ल्याइएको बिजुलीको पोल अहिले बिजुली नजोडे पनि तार ताङ्गिएको रहेछ । म सँगैको साथी दुई वर्ष अगाडी भन्सारमा हाकिम भई अहिले पच्चिस लाखको घर खडा गरेछ । हिजो एउटा हातले सिंगान पोछ्दै अर्को हातले जाङ्गे समाउदै दौड्ने कान्छा छोराको बाँउ भएछ । जंगल जानु भन्दा झाँडु लागाउछु भनि सबै विदेश पलायन भएछन्, गाँउको बुढापाकालाई स्वच्छ हावा भन्दा शहरको दुषित वातावरणनै प्यारो लाग्न थालेछ। गाँउबाट लखेटेर फेरी शहरबाट पनि धपाउने बिचार गर्दैछन् अरे! हप्तामा दुई दिन चक्का जाम नियम जस्तै भा’ छ रे ! महिनामा एक दिन नेपाल बन्द नभए उनिहरुको खाना पच्दैन अरे! चोरी डकैती, लुट-पात, हत्या र बलत्कार जस्तो काम बढ्दै गएको छ । एकले अर्काको खुट्टा तान्ने जस्तो राम्रो बानी सबैले सिक्दै गएको पनि आभाष हुन् थालेछ , देशविकासको नाउमा भकारी भर्ने बानी गएको रहेनछ । दस वर्षसम्म ठप्प भएको देशको स्थिती अझै उस्तै छ । ”
पाँच वर्षको प्रवासी जिवन सकाएर एक महिना अगाडी नेपाल पुगेको मेरो साथीलें ‘ के छ त गाँउको हालखबर …? कस्तो भएको छ हाम्रो गाँउ ? ‘ भनि सोध्दा यस्तो माथिको उत्तर दिएको थियो ।
राजधानी यस्तो लाग्थ्यो…
टाढाबाट हेर्दा पाडो उफ्रिरहेको देखिन्थ्यो, तर नजिक गएर हेर्दा राजेशलें डाँन्स गरेको पो रहेछ ।
टाढाबाट हेर्दा भैंसी मात्तिएको जस्तो देखिन्थ्यो, तर नजिक जाँदा जल आत्तिइएकी रहिछिन् ।
टाढाबाट हेर्दा कुकूरलें पुच्छर हल्लाएको जस्तो देखिन्थ्यो, नजिक गएर हेर्दा बिपनाको कपाल हावामा सरर पो भएको रहेछ ।
टाढाबाट हेर्दा आगलागीको धुँवा झैं देखिन्थ्यो, तर नजिक पुगेर हेर्दा थोत्रो गाडीको दुषित साँस पो रहेछ ।
टाढाबाट हेर्दा जाडोमा आगो बाली चिसो लखेटे झैं लाग्थ्यो, नजिकमा पुग्दा टायर बाली विरोध प्रदर्शन गरेको रहेछ ।
जलस्रोतको धनि देश जस्तो लाग्थ्यो तर धाराले त साँस पो फेर्दो रहेछ ।
टाढाबाट हेर्दा ईंटाको थुप्रो जस्तो देखिन्थ्यो, नजिक आई पुग्दा राजधानी पो रहेछ ।