दुई पटरीको बिचमा फंसेको छ जवान,
सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान,
जसले जन्मायो,
हुर्कायो, जवान बनायो,
सबैकुरा बुझ्न सक्ने
यस लायकको बनायो,
जसको काँखमा खेलेर
आफ्नो आधा जिवन बितायो,
के भयो आज यदि ममताको मोल आफ्नो माग्यो त !?
जिवन साथी बनायौ जसलाई,
जो सँग आधा जिवन बिताउनु छ,
आफ्नो खुशिहरु,
आफ्नो दु:खको क्षण,
आफ्नो सपनाहरु साकार गर्नु छ,
गरेका ति वाचाहरु,
जसलाई मिलेर पुरा गर्नु छ ।
के भयो उसले आज आफ्नो अधिकार माग्यो त !?
आमा….
श्रीमती त तेरो आज आएको ,
यो उम्र पुरै तैंले म सँग बिताएको ,
कुनै आपत पर्दा,
मेरै ममताको छाया तैले पाएको।
श्रीमति….
आमा त तिम्रो अस्ताउन लागेको घाम हुन्,
भोली छोडी जाने छिन्,
फेरी कुनै आपत विपत पर्दा,
भोली साथ दिने मै नै हुँ ।
आमा….
नगरे विश्वास यसलाई ,
यसले के साथ देलाँ,
छोडेर आएको आफ्नो बाबु- आमालाई,
तेरो कसरी साथ देलाँ ?
श्रीमति….
के सोच्दै हुनु हुन्छ ?
के अझै ममा विश्वास छैन ?
सँगै जिउँने- मर्ने वाचाहरु,
के यति चाँडै बिर्सनु भयो ?
बेचारा जवान चुपचाप,
कसलाई दिने सुख, कसलाई दु:ख ?
दिन- दिनैको यो झन्झट,
कसरी ठिक पार्ने यो टाउको दुखाई ?
गर्ने श्रीमती सँग सम्बन्ध- विच्छेद ?
कि गर्ने गृह- त्याग अनि
खरानी घसी बन्ने साँधु- सन्यासी ?
या फेरी आत्महत्या ??
हो यो सोह्रै आना सत्य हो
दुई पटरीको बिचमा फंसेको छ जवान,
सासु- बुहारीको गृह- युद्घमा शहिद भएको छ जवान।।