Home | Set as homepage |About me | Music Video| Mp3 |Game | Mail me | Log in Required Fonts : Mangal | Kalimati

December 21, 2006

ब्लगिङ्गको एक वर्ष

पुष ६ गतें,

आज भन्दा ठिक एक वर्ष अगाडी मैले ५ वटा कविताहरु बाट ब्लगिङ्ग शुरु गरेको थिए । त्यस बेलाको फुर्सदको समयमा शुरु गरेको मेरो नेपाललें एक वर्ष पुरा गराउने कुनै योजना थिएन तर आज जसो तसो एक वर्ष पुरा गरेको छ । नेपालमा हुँदा साथीले हटमेलमा ई-मेल खोलिदिएको र अर्को पटक खोल्न नआँउदा पछि Dead भएको कुरा पनि हिजो अस्ती जस्तो लाग्छ । यहाँ आएर शुरुमा साइबर जानी-नजानी कम्प्युटर चलाए र पछि साथी/दाई (बिकाश) कोठामा गएर कम्प्युटरको बारेमा अलिकत सिक्ने मौका पाए र त्यहिबाट याहुमा ई-मेल खोले र याहु च्याटमा विभिन्न देशहरुको च्याटरहरु च्याटमा मात्र दिन बितिरहेको थियो ।

एक दिन दाईले कति च्याटमा मात्र व्यस्त हुने यसो नेपालको न्युजहरु पनि हेर्ने गर्नु पर्छ भन्नु भा’को र वहाँको ब्लग पढ्दा (शुरुमा वहाँको ब्लगस्पटमा ब्लग थियो अहिले सो Delete गर्नु भा’को छ । ) म पनि ब्लग तिर ध्यानाकर्षण भए र मैले पनि ब्लग दर्ता गर्न पुगें । धेरै कुराको अज्ञानताले शुरुमा ब्लगिङ्ग गर्न अलि कठिन भएको थियो तर पछि पछि ठिक-ठिकै भयो । कहिले साईवरबाट कहिले दाईको बाट ब्लगिङ्ग गर्न थाले, फेरी त्यो पनि सम्भव भएन र मैले पनि कोठामा ईन्टरनेट राख्‍ने बिचार गरे र कोठाकै साथीसँग मिलेर कम्प्युटर+ ईन्टरनेट राखे र मासिक नेपाली लगभग तीन हजार तिरेर अझसम्म ईन्टरनेट चलाई राखेको छु । त्यसबेलाको फुर्सदको समयमा त ठीकै थियो तर अहिले कम्पनीमा काम बढेकोले न ब्लगमा समय दिन सकिन्छ न २४ घण्टे ईन्टरनेटको सहि उपयोग गर्न सकिन्छ ।

अब त मेरो लागी कोरियामा भात सकिए जस्तो छ । तीन वर्षको भिषा यहि आउँदो २७ जनवरीमा सकिन्छ त्यस पछि सायद घरतिरको बाटो तत्ताउनु पर्ला जस्तो छ । तै पनि विचार गर्दै छु । नेपालमा अझै केहि गरिखान सकिने अवस्था भैसकेको छैन । दिन-दिनै चक्का-जाम र नेपाल बन्दको चलनलें अझ प्रगति गर्दै छ । “शान्ति कुन चराको नाम हो ?” अझै थाहा छैन ।कहिले माओवादी बहुलाउने कहिले सात दलका नेताहरु त कहिले राजा…. अझ कहिले त सबै बहुलाउन थाल्छन् र पो मर्नु भा’छ नेपाली जनतालाई । सानो तिनो कुरामा देशनै बन्द गर्नु पर्छ, टायर नबाली हुन्न ? हुँदा- हुँदा विश्व खुसीले हर्षित हुने बेलामा पनि नेपाल बन्द रे !! वाह ! वाह !! प्रचण्ड जय होस् , हो यसरीनै बनाउछौ तिमीले नेपाललाई सिंगापुर ………

November 20, 2006

कुरा मेरो जन्मदिनको..

मंसिर ४ गतें, आज मेरो जन्मदिन । वास्तवमा मैंले मेरो जन्मदिनको दिन आफ्नो जन्मदिन आजै हो भनेर थाहा पाएको यो पहिलो पटक हो । मलाई अझै सम्झाना छ आमालें मेरो जन्म कथा सुनाउँदा भन्नु भएको । म जन्मेको भोली पल्ट ‘शत्‌विजरोषण’ ( शत्‌विज छर्ने) दिन थियो रे , र गलेश्वरमा (म्याग्दीको एक पवित्र स्थल जहाँ शिवजीको ठुलो मन्दिर छ ।) शत्‌विज छर्नका लागी दिनभरी र राती पनि मान्छेहरुको धुईरो थियो रे । हाम्रो घर मुख्य बाटोमा पर्ने भएकोले रातीपनि मान्छेहरु हिडेको प्रष्टै थाहा हुन्थ्यो । हो त्यहि दिन बेलुका जन्मेको रे म । त्यसताका यो दिन गलेश्वरमा ठुलो जिल्लास्तरिय मेलाको आयोजना हुने गर्थ्यो रे । मैले थाहा पाउँदा पनि त्यहाँ मेला लाग्ने गर्थ्यो, धवलागिरीको चारै जिल्लाबाट मेलामा हुने खेलहरुको प्रतियोगितामा भागलिन त्यहाँ आउन गर्थे । मान्छेहरुको भिडमा खुट्टा राख्‍ने ठाँउसमेत हुदैन्थ्यो । एकपल्ट म पनि त्यहाँ हराएको सम्झाना ताजै छ , तर माओवादीको चलखेल बढेपछि अहिले त्यो चलन हराएको भएतापनि शत्‌विज छर्ने चलन अझै कायामै छ ।

म जन्मिने साल कति हो ? त्यो त मलाई थाहा हुने कुरा भएन तर आमाको अनुसार म आजै अर्थात मंसिर ४ गतें जन्मेको तर ‘कुन साल ?’ भन्दा खासै सम्झाना नरहेको बताउनु हुन्छ, त्यतिबेला आजभोलीको जस्तो अस्पताल त थिएन जसमा जन्मिन साथ गते, बार, समय …सेकेन्ड समेत टिपिन्छ । तैपनि मेरो गाँव त अति विकत ठाँउमा घामको झुल्को हेरेर समयको अनुमान गर्ने जमाना …कसले टिप्छ जन्मेबार ? जन्म सालकै कुरा गर्नु पर्दा नेपालबाट त्यस्तै ८, १० वर्षको उमेरमा इण्डियातिर अध्ययनको लागी गएको त्यहाँ जन्मदिन भनेर कति लेखाउनु भयो या लेखाउनु भएन त्यो पनि थाहा भएन, तर चिनामा (जन्मपात्रोमा) २०३३ सालको भनेपछि आमाको भनाई अनुसार २०३३-०८-४ गतें शुक्रबार हुनुपर्ने तर नागरिकतामा २०३३-०८-१२ शनिबार छ । छोटकरीमा भन्नुपर्दा मेरो लगभग हरेक कुरामा जन्मदिन या जन्मबार अलग अलग छ । त्यसैले मलाई मेरो आफ्नै जन्मदिन ठिक सँग थाहा छैन । जे भएपनि मैले मेरो जन्मबार ‘शुक्रबार’ र जन्मदिन २०३३ साल मंसिर ०४ गते नै मान्छु र मेरो प्रायजसो सबै डकुमेन्टहरुमा पनि यहि छ ।

नामको कुरा गर्नु पर्दा पनि त्यस्तै छ । चिनामा त मेरो नाम ‘राम’ छ , तर ८, १० वर्षसम्म नेपालमै हुँदा ‘टेक नारायण’ रे, इण्डियामा गएपछि शुरुमा ‘टेक प्रसाद’ रे फेरी होस्टलमा भर्ना हुँदा ‘प्रेम प्रसाद’ र फेरी नेपालमा फर्के पछि हाल अहिलेको नाम ‘टंक प्रसाद’ नै छ । यो त समय र ठाँउ अनुसार मेरो नाम मेरो अभिभावकहुरुले फेर्दै गए तर जन्मपत्रोमा भएको नाम ‘राम’ नराखेर किन मेरो नम ‘टंक’ हुन् पुग्यो त्यो चाँहि थाहा हुन् सकेन । कोई छ मेरो नाम ‘टंक’को अर्थ बताउने वाला ?

फेरी जन्मकै कुरा गर्दा मर्ने कुरा पनि गर्नु पर्‍यो । जन्मँदा त मान्छेहरुलाई थाहा हुन्छ तर मर्दा… अँह.. थाहा हुदैन । त्यो चाँहि किन होला हैं ? त्यसैले होला कमप्युटरयुगमा धेरैलें मर्ने मिति थाहा पाउँने साईटहरु बनाएका छन् । http://www.deathclock.com यो एउटा साईट ‘Koreanp’ ब्लगबाट हेरेको, जसअनुसार म Thursday, September 08, 2050 मा मर्ने रहेछु । भनेपछि म लगभग ७४ वर्ष बाँच्ने रहेछु । ओह !! यो के ? यदि मैले धुम्रपान गर्थे भनें Tuesday, March 10, 2043 सालमा मर्ने रहेछु । भनेपछि धुम्रपान गर्दा मेरो भिषा लगभग सात वर्ष अगाडीनै लाग्दो रहेछ । धन्य प्रभु…. म धुम्रपान गर्दैन !! तपाई नि ? धुम्रपान ……? कि…… ? धुम्रपान भनेको सात वर्षको फरक रहेछ । ……मात्र सात……… ल त बाँई…बाँई …।।।

October 24, 2006

‘भाई टिका’को त्यो क्षण

कार्तिक ७ गते,

मुर्चुङ्गा डट कमको देउसी-भैलोको गीतको लागी यहाँ क्लिक गर्नुहोस् । फेरी यसपाली पनि म ‘भाई टिका’ मा दिदीलाई भेट्न पाईन । यो मेरो बाध्यता भनौं वा के भनौं । प्रवासी भुमिमा परिश्रम गर्न आएका हामी नेपालीको वास्तविकता यही हो । सधैं काम र काम मात्र !! मेरो टिकाको दिन यसरी गयो ।

हिजो सुत्‍ने बेलामा ‘ओहो ! भोली त ‘भाई टिका’ भोली सायद केहि नौलो महसुस हुन्छ नै होला भन्ने सोचेको थिए। तर ‘नाई’ केहि भएन सदा झैं बिहानको आलर्मले निद्रा खुल्यो अनि उहि काम । बिहान देखि खाना खानें बेला सम्म एकदमै व्यस्त, खाना खाएर हतार हतार टिकाको साईत हेर्न कम्प्युटर खोले । मन झन् अत्यास लाग्दो भयो । खाना खाने र आरामको लागीको १ घण्टा सकियो । फेरी काम ,दिनभरी तिहारको बारेमा सम्झें , गाँउ घर सम्झे, साथीहरु सँगको ‘देउसी भैलो’ सम्झें, मादलुको ताल , त्यैं तालमा नाचेको साथीहरु सम्झें, पर बारीमा हालेको ‘लिङ्गे-पिङ्ग’ सम्झें, सेल रोटी, त्यो रङ्गी-चङ्गी माला अनि निधारको त्यो सप्तरङ्गी टिका सम्झे, नयाँ-नयाँ लुगामा रमाउदै गरेको त्यो छिमेकीहरुको केटा-केटी सम्झें, दिदीको त्यो हँसिलो मुहार सम्झें, भाईको चम्किलो अनुहार सम्झें !!………. ऊफ !! मेशिन रोकिएछ ! भोटेले खाँउला झैं गरी हेरिरहेको रहेछ । (more…)

September 24, 2006

हाम्रो बाध्यता

आश्विन ८ गतें,

सर्वप्रथम विगत लगभग १ महिना देखि कंम्पनीमा लगातार कामको चाप बढेकोले ब्लगमा निरन्त्रता दिन नसकेको जानकारी गराउन चाहान्छु । प्रवासी भुमिमा पाइला टेकेको पनि ३ वर्ष पुरा हुन् लागेको र बस्ने मन हुँदा-हुँदै पनि स्वदेश फर्कनु पर्ने बाध्यता एउटा तितो सत्य हो । हामी नेपाली एक चोटी विदेश गएपछि स्वदेश फर्कने चाहाना सायदै कमैको होला भन्नेमा दुई मत छैन । मुखलें जे भनें पनि मनलें विदेशमै बसेर टन्न पैसा कमाउने र सकेसम्म उतै घरजाम गर्ने विचार धेरैको नहोला भन्न मिल्दैन , तर सबैमा यो कुरा लागु हुन्छ भन्ने पनि छैन ।

हामी नेपालीको यस्तो गर्नु बाध्यता पनि हो , तर यो बाध्यतामा हामी नेपाली आफ्नै कारणले गर्दा भएको हो । दु:ख कष्ट गरेर विदेश जान्छौ अलिकत पैसा कमाउँछौ , अलिकत सीप ज्ञान सिक्छौ र सोच्छौ “नेपाल जानें एउटा घर किन्ने ,एउटा राम्रो केटी हेरेर घरजाम गर्‍यो , बैंक ब्याँलेन्स , मोटर कार…….. आधा घर भाडामा दियो बस् त्यति भए हात मुख जोड्न पुगी हाल्छ ।” यहि नै सत्य हो ,…फेरी खोई त्यो विदेशमा सिकेको सीप ? त्यो दु:ख कष्ट ? आफ्नो घरमात्र सबथोक, देशको विकासको लागी केहि गर्नु पर्दैन । हामीले त दु:ख गर्‍यौ , अनि हाम्रो सन्ततिहरुलाई के नि ? उनिहरुलाई पनि फेरी उहि ‘विदेश’ , उहि दु:ख कष्ट, यहि सिकाउने ? होईन ! हामीहरुले यो चलन बढल्नु पर्छ , आखिर कहिलेसम्म हामी विदेश धाँउने , कति गर्ने अर्काको गुलामी ? त्यसैले हामीले यसबारे राम्ररी सोच्नु पर्छ । बस् आजलाई यत्ति भन्दै बडा दसैको फेरी पनि शुभकामना र यो राशिफलको फोटोहरु तल राख्दै छुँ । यो फोटो मलाई राम्रो लागेर मात्र राखेको हो ।

मेष राशि
मेष राशि ^

वृष राशि
वृष राशि ^

मिथुन राशि
मिथुन राशि ^

बाँकि फोटो भित्र (more…)

August 29, 2006

म पनि ‘प्रवासी नेपाली पत्रकार संघ द.कोरिया’को सदस्य भए ।

१३ भाद्र,

श्रम तथा यातायात ब्यवस्था मन्त्री लगायत प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाका कार्यसमित र अन्य... गत आईतबार भाद्र ११ गते नेपालबाट इन्टरनेशनल लेभर अर्गनाइजेसन (ILO) को १४औं रुसियाली वैठकमा भाग लिनआइपुग्नु भएका श्रम तथा यातायात ब्यवस्था मन्त्री तथा सरकार माओवादी वार्ता टोलीका सदस्य रमेश लेखकको कोरिया भ्रमणको अवसर पारेर प्रवासी नेपाली पत्रकार संघ दक्षिण कोरियाका अध्यक्ष डम्बर सुब्बाले कार्यसमितलाई पूर्णता प्रदान गर्दै कार्यबिभाजन पनि गरेको थियो । सो कार्यसमितिमा उपाध्यक्षमा माधवी भट्ट, सचिव भूपेन्द्र आचार्य, सहसचिव केशव खड्का, कोषाध्यक्ष बोधराज रेग्मी रहनु भएको छ भने सदस्यहरुमा म लगायत मिनोद मोक्तान र गणेशबहादुर लिम्बु हुनुहुन्छ । संघको संरक्षकमा भनें नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष बमप्रसाद लावतीलाई चयन गरिएको छ । हाम्रो कोरियन भाषा सहित नेपाली अनि विभिन्न भाषामा वेबसाइट पनि छ ।

साथै आन्याङ सेल्टरमा माननिय मन्त्री ज्युसँग अन्तक्रिया कार्यक्रम पनि गरेको थियो । नेपाल सम्पर्क समिती र प्रवासी नेपाली पत्रकार संघले आयोजना गरेको उक्त कार्यक्रममा माननिय मन्त्री लगायत वहाँ सँगै आउनु भएका श्रम सचिवज्यु र कोरिया स्थित बिभिन्न संघ सस्थाका सदस्यहरुले पनि आ-आफ्नो मन्तव्य व्यक्त गरेको थिए । मन्तव्यको भिडियो लागी यहाँ क्लिक गर्नुहोस् । कार्यक्रमको अन्तमा अन्तक्रिया कार्यक्रम भएको थियो । अन्तक्रिया कार्यक्रममा नेपाली राजदुतावास राख्ने, ईपियस सिस्टम लागु गर्ने सम्बन्धि र अन्य प्रश्नहरुको अत्यन्तै सहज तरिकाले उत्तर दिदैं विगतमा आएका मन्त्रीहरुले जस्तैं आँफुले उक्त कार्य गर्न वाचा नगर्ने तर आँफुले सक्दो प्रयास गर्ने र गर्न नसकेमा माफी समेत मागेका थिए । समयको अभावले सबैले प्रश्न राख्न नपाएको र केहि भएमा यहि भाद्र महिनाको २१ गते सिओलमा हुने एशियन मुलुकहरुका राजनैतिक पार्टीका नेताहरुको भेलामा भाग लिन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादर देउवा, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेपाली कांग्रेसका महामन्त्री रामचन्द्र पौड्याल आउनु हुन्छ वहाँहरुलाई राख्‍दा पनि हुन्छ भन्नु भएको थियो ।

नेपाली सम्पर्क समिति अध्यक्ष वमप्रसाद लावतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेसस सचिव केशव खड्काले गर्नुभएको थियो भने सहसचिव माधवी भट्टले स्वागत मन्तव्य गर्नुभएको थियो ।

[दिनभरीको कार्य व्यस्तताले गर्दा ब्लग लेख्‍न ढिला भयो।]

August 12, 2006

मेरो जिवन कार्बन कपी…(दैनिकी)

12th August,

बिहान ठिक साढे सात बजे फोनको आर्लम बजेपछि म निन्द्रामै आर्लम बन्द गरेर एकछिन पल्टिरहन्छु र फेरी निन्द्राले समात्‍न खोजेपछि फेरी सात बजेर तेत्तिस मिनटको आर्लम बज्छ, म विवश भएर उठि आफ्नो नित्य कर्म भ्याएर कामको ड्रेस लगाई नास्ता गरी कम्पनीमा पुग्छु । काम शुरु हुन्छ । दैनिक बढि रहेको गर्मीमा १०-१२ किलोग्रामको फलाम उठाउदै ३५-४० सेकेन्डको अन्तरालमा मेशिनमा हाल्दै-निकाल्दै , बिच-बिचमा नाप-तौल पनि गर्दै घाटी सुक्ने गरी लगातार चार घण्टा काम गरेपछि बल्ल-तल्ल खाना खाने समय आउछ । लामो साँस फेर्दै खाना खाएको १ घण्टा पछि फेरी उहि काम , तातो वातावरण त्यसमाथि पनि मेशिनको फलाम काँटेको बाफ, पुरै शरिरमा पानीको धारा, त्यो गर्मीमा चिसो पानी, अनि धेरै चिसो पानी खाएपछि घाटीको पनि छुट्टी, यस्तै-यस्तै कामले आठ घण्टाको काम पछि ओभर टाइम छ भने फेरी काम, होइन भने हल्का खाना खाएर बल्ल आयो पालो कमप्युटरको , हल्का समाचार हेरे पछि अगाडी मेल चेक गर्छु अनि ब्लग र त्यसपछि गेम खेली बस्छु ।

कोरियाको ठिक बाह्र बजे राती bfbs मा समाचार सुन्दै गेम खेल्छु, खेल्दै जाँदा कति बज्छ थाहा छैन १-२ र कहिले त ३ पनि बज्छ । त्यसपछि सुत्‍नु पर्‍यो भन्ने सोचेर बिस्तरा तिर लाग्छु, आर्लम चेक गर्छु अनि टेलिभिजन खोलेर कुनै मनपर्ने सिरियल वा फिल्म आयो भने हेर्छु , नभए बन्द गरि सुत्छु । फेरी सपनातिर हराउछु , तर सपनाको मध्यान्तर नहुदै फोनको आर्लम बज्छ । गएको तीन दिन अगाडी कम्पनीमा काम अलि व्यस्त, अत्याधिक गर्मी र त्यो गर्मीमा चिसो पानी खाएर मेरो घाटी साह्रै दुखेर अलि बिसन्चो भएर आज दश हजार कोरियन वनको दवाई खाईरहेको छु । त्यसैले गेम पनि खेल्न मन लागेन र ब्लग पनि चलाएन । शनिवार र आइतवारमा अलि-अलि अमृत पनि खानै पर्‍यो । झन् साथिहरु सँग हिजो नेपालबाट आमाले पठाउनु भएको स्याँउको ब्रान्डी र खसीको सुकुटीको आनन्दले आज अलि पिरेको छ । सायद भोली बाट म फेरी आफ्नै गतिमा भाग्ने कोशिस गर्ने छु ।

नेपाल बाट पैसा कमाउन आएको म यो कम्पनीमा पैसा त कमाइएन तर कम्पनीले बुढो मात्र बनायो । बस कोरिया आएपछि यस्तै छ मेरो दैनिकी एउटा कार्बन कपि झै ।

July 30, 2006

यसपालीको गर्मी छुट्टी

‘ओह ! क्या गर्मी!! ‘

हजुर! आजभोली यो शव्द अतिनै लोकप्रिय भनौ वा…. के भनौ धेरैको मुखबाट सुन्न सकिन्छ । गर्मीको बेलामा सबभन्दा उपयुक्त ठाँउ भनेको नै समुन्द्र छेउ । दिनदिनै बढेको अत्याधिक गर्मी र यसै समयमा हुने गर्मी छुट्टीमा म पनि यसपल्ट समुन्द्र छेउ प्रथम पटक जाने भएको छु । चार दिनको छुट्टी अगस्त महिनाको ३ तारिख देखि शुरु हुने छ । चार दिनको छुट्टीको पुर्ण तैयारी त भएको छैन तर ‘Everland’ र समुन्द्र छेउ जाने निश्चित भै सकेको छ । छुट्टीको फोटोहरु र सकेसम्म भिडियो पनि ब्लगमा राख्‍ने कोशिस गर्ने छु ।अहिलेलाई यो मात्र >

Everland
यो हो Everland….फोटो हेर्न भित्र पनि आउनुहुन्छ कि?>> (more…)

July 1, 2006

अब त फर्की आउनुहोस् दाजु !

आदरणिय दाजु ,

ढोग छ, साथैं धेरैं-धेरैं सम्झाना पनि । तपाई जहाँ भएपनि आशा छ आराम कुशल नैं हुनु हुन्छ होला। हामी स-परिवार पनि आरामैं भन्नुपर्‍यो । दुई दशक पनि नाघि सक्यो , वन पसेकाहरु पनि घर फर्किन लागिसकें तर तपाईको अझैं आत्तो-पत्तो छैंन, किन यस्तो ? गर्भमा छाडेर जानु भएको छोरा २० वर्षे लक्का जवान भै सक्यो । प्रत्यक्ष नदेखेको छोराले फोटो समाई ‘मेरो बुबा’ भनेंर भन्दा मेरो मुटु धेरैं चोटी नटुक्रिएको होइन, अघि-पछि मलाई नैं बुबा मानेर एक-दुई कुरा राख्दा मेरो मन गर्वलें नफुलेको पनि होइन र कसैंले औंला उँठाउदा उ चुपचाप मनको पिडा मनमा लुकाएर एकान्तमा धरधरी रोएको मैंले नदेखेको पनि होइन, धन्य ! त्यो छोरा र धन्य ति तपाईको जिवन साथी ! तपाईको आशैं-आशामा आफ्नो अमुल्य जिवन त्यसैं बिताई रहनु भएको छ । तपाईको वापसीको लागि व्रत-तिर्थ कुनैं पनि छोड्नु हुन्न, अजा-पुजा कहिल्यैं छोड्नु भएन , स्वास्थानी व्रतमा भोक-भोकैं बसेको ‘मात्र र मात्र’ तपाईको पर्खाईमा । तपाईको आशैं-आशामा बुबा त धेरैं अगाडी संसार छाड्नु भयो, बुबालाई आफ्नो सास रहुन्जेल सम्म त ‘मेरो छोरो आवश्य आउछ’ भन्ने चाहाना त पुरा भएन भएन तर कठैं मेरी आमैं ! ‘मेरो छोरा एक दिन आउँछ-आउँछ’ भन्नु हुन्छ । तपाई घर छोडेर गए देखि बाट अहिले सम्म तपाइलाई खोज्दा-खोज्दा नपाए पनि अझैं हार मान्नु भएको छैंन , ज्योतिषहरु देख्‍नैं हुन्न, झोलामा लिएर हिडेको तपाईको ‘चिना’ निकाली हाल्नु हुन्छ । कसैंले ‘मैंले तपाईको छोरालाई फलानो ठाँउमा देखेको थिए’ भन्नैं हुन्न उसैंलाई लिएर त्यो ठाँउमा तुरन्त पुग्नु हन्छ तर तपाईको केहि अत्तो-पत्तो हुदैंन । बुढेसकालमा तपाईलाई खोग्दैं हिड्नु हुन्छ । फोटोमा तपाईलाई हेर्दै हातलें छुएर आखाँ भरीको आँशु लुकाउदैं नपुछेको मैंले नदेखेको पनि होइन, बुबा बित्‍नु अघि तपाईले पठाएको पत्र पढ्दा बुबाको आँखामा पहलो पटक आँशु नदेखेको पनि होइन। पत्रमा ‘एक चोटि आवश्य आउछु’ भन्नें हरफहरु मैंले पढ्दा सबैंको मुहारमा खुशी छाएको क्षण अझैं बिर्सेको पनि छुँइन, उक्त पत्रमा इण्डियाको हुलाकको छाप भएकोलें धेरैं चोटी तपाइलाई खोज्न बाबा-आमा इण्डिया नजानु भएको पनि होइन, मेची-महाकाली नधाएको पनि होइन, तर सबैं व्यर्थ, पैसाको त के मुल्य, आफ्नो सुख-चैंनको पनि वेवास्ता गरि दिन रात नभनी तपाईलाई खोज्दा अहिलेको समयमा तपाईलाई नपाउँदा हाम्रो मनमा, हाम्रो जिवनमा के बितिरहेको छ होला भन्नें जो कसैंले पनि अनुभव गर्न सक्छ । दुई वर्ष अगाडी तपाईलाई गाँउको कसैंले मलेशियामा देखेको खबर पाए पछि मैंले सम्पर्क नम्बर खोजी कयौं पटक फोन गर्दा तपाई अन्तै गएको सुन्दा मेरो मन छिया-छिया नभएको पनि होइन, तर के गर्नु हाम्रो परिवारलें तपाईलाई नबिर्से पनि तपाईलें बिर्से पछि कसको के लाग्छ र !?

म यस ब्लग मार्फत तपाईलाई धेरैं त भन्दैंन तपाईलें एकचोटी बस् तपाईलाई हाम्रो परिवार बीच सम्झिमात्र दिनु , तपाईलें कर्तव्य पुरा गर्नुपर्ने ठाँउहरुलाई जिम्मेवारी तवरलें हेरी दिनु, बुढी भएकी जन्म दिनें आमाको त्यो आशलाग्दो अनुहार सम्झिदिनु, हामी भाई-बहिनीहरुको सम्झाना नआएपनि त्यो तपाईको मुहार त कें तपाईको छाँया सम्मको अनुभव नगरेको छोराको न्यास्रो अनुहार सम्झि दिनु, गाँउ-घरको साथीहरुलाई नसम्झें पनि हुन्छ तर तपाईलाई सर्वस्श ठाँनेंर जन्म-घर र जन्म दिनें आमा-बुबा छाडी सातौं जुनि बिताउनें कसम खाई तपाई सँग भागेर आएकी तपाईकि श्रीमतिलाई सम्झिदिनु जसलें एउटा पत्रलाई आफ्नो सर्वस्श ठानि सिरानी मुनि राखेंर तपाई आउनें आशामा दिन काटिरेहेकी छिन् र अनि आफ्नो जन्मभुमि ‘नेपाल’लाई पनि सम्झनु जुन् देशको माटोमा तपाईखेलेर ठुलो हुनु भयो, जहाँ गएपनि तपाईको शरीरबाट अझैं पनि जन्मभुमि सुगन्ध ताजैं छ होला त्यसलाई सम्झनु, देश प्रतिको तपाईको कर्तव्य सम्झनु, तपाई सँगै वनवास भएका काकाको छोरा फर्केको पनि कत्ति भैं सक्यो, भगवान राम-लक्ष्मण पनि १४ वर्षमा फर्किनु भएको थियो तर तपाई !? वन पसेका नेपालका कठित माओवादी पनि अहिलें घरको खोजिमा फर्केका छन् भने तपाईको र मेरो मुटु पनि एउटैं रगतको हो यत्ति कठोर त नहुनु पर्ने !? ‘अब त फर्की आँउ छोरा’ भनि बसेको आमाको हृदयलाई छिया-छिया नबनाउनुहोस्, सबैं पाईन्छ तर आमा पाईदैंन भन्नें कुरा बुझि, अब साँचिक्कैं दाजु ‘प्लिज’ फर्कनुहोस् । संसारको जुनसुकैं कुनामा भएपनि, जस्तो स्थिति-परिस्थिति भएपनि सबैं बन्धन तोडेर घर आईदिनुस् । तपाईको प्रति हाम्रो परिवारमा अझैंपनि त्यँही ठाँउ छ, कुनैं शंका छैंन्, कुनैं रिस-राज छैंन्, तपाईलाई आउनमा केहि रुकावत छ भनें, कसैंलाई अप्ठाय्‍रो पर्छ भनें नि-संकोच हामीलाई भन्नु , घर-जाम गरेर बस्नु भएको छ भनें पनि स-परिवार आउनु, तपाईलाई स्वागत गर्ने हाम्रो इच्छा पुरा हुनेछ । आखिर कहिले सम्म तपाई आफैं-आफैं सँग लुक्नु हुन्छ ? यस्तो वनवास किन् ?

बस् यो ब्लगको शब्दलाई तपाईलें कहि बाट हेर्नु भयो भनें वा कसै मार्फत थाहा पाउनु भयो भनें र तपाईको मन बदिलियो भनें हाम्रो यो अपुर्ण परिवार पुरा हुनें छ, यहि आशामा मेरो मनको भारी ‘मेरोनेपाल’को चौतारीमा बिसाउँदैं आजलाई विदा चाहान्छु । तपाई जहाँ भएपनि आमाको आशिष र हाम्रो मायाले कहिल्यैं न छोडोस्।

तपाईको भाई-टंक सेरचन
र सेरचन परिवार
***************************************************************
मेरो ठेगाना-

पात्लेखेत-५, म्याग्दी, धौलागिरी, नेपाल

उक्त ठेगानाको मेरो दाजु मन प्रसाद सेरचनलाई (वहाँको फोटो म पछि राख्‍नें छुँ ) कसैंले देखे सुनेंमा कृपया मेरो ई-मेल meronepal2@gmail.com वा मेरो फोन न. ८२-१०-५८११-२९३९ (कोरियाको)मा सम्पर्क गरि दुखित परिवारलाई सहयोग गरीदिनु हुन् विनम्र अनुरोध गर्दछु । धन्यवाद !

Next Page »[2][3][4][5][6][7][8][9][10]
  • नेपाली भिडियो

  • Hit Counter
    Dell Home
    eXTReMe Tracker Online Users